USAID

तनहूँ, बाँके, नवलपरासी, धुलिखेलमा कोरोना संक्रमितको मृत्यु


काठमाडौँ । तनहुँ, बाँके, नवलपरासी र धुलिखेलमा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई सुगर, पे्रसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

साउन २१ गते उपचारका लागि उनलाई क्रिटिकल अवस्थामा अस्पताल लागिएको थियो । खड्काले भने, “अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।”

त्यसैगरी बाँकेमा कोरोना संक्रमणबाट गए राति एक जनाको मृत्यु भएको हो । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कोरोना संक्रमित एक वृद्धाको काभ्रेस्थित धुलिखेल अस्पतालमा आज बिहान मृत्यु भएको छ । धुलिखेल कै ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *