USAID

एसइईमा विद्यालयले जथाभावी अंक दिएकाले जिपिए बिवरण सार्वजनिक भएन


काठमाडौँ । विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ  । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने विवरण बोर्डले लुकाएको छ  ।

सोमबार बसेको बोर्ड बैठकले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो  । ०७६ सालको एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्तांक बोर्डमा प्राप्त भएको थियो  । ०७५ सालको एसइईमा कुल चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए  ।

कोरोना संक्रमण बढ्दै गएको तथा विद्यालयहरूमा क्वारेन्टाइन बनाइएकाले परीक्षा लिन सक्ने अवस्था नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो । त्यसअघि एसइईको परीक्षा ६ चैतदेखि गर्ने तालिका सार्वजनिक गरिएको थियो  । तर, कोरोनाको जोखिम बढ्दै गएपछि अघिल्लो दिन परीक्षा स्थगित गरिएको थियो । केन्द्र नजिकै पुगेका प्रश्नपत्र फिर्ता गरी प्रहरी कार्यालयमा राखिएको थियो  ।

बोर्डले एसइईमा सहभागी विद्यार्थीको समग्र जिपिए विवरण सार्वजनिक गरेको छैन  । स्रोतका अनुसार विद्यालयहरूले आफूखुसी नम्बर दिएको र सार्वजनिक गर्दा ‘कोरोना ब्याच’ को भन्दै विद्यार्थीमा नकारात्मक असर पर्न सक्ने विश्लेषण गरी जिपिए विवरण ननिकालिएको हो  ।

‘बोर्डले जिपिएको विवरण ननिकाल्ने भनेपछि कम्प्युटरबाट प्रोसेसिङ नै गरेनौँ,’ बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भने । राष्ट्रियस्तरमा परीक्षा नभएकाले पनि जिपिएलगायतको विवरण ननिकालिएको उनको भनाइ छ ।

तर, शिक्षाविद् प्रा. डा. बालचन्द्र लुइँटेलले समग्र डेटा विश्लेषण नगरेर बोर्डले एसइईको नतिजा प्रकाशनमा झारा टारेको बताए  । ‘अहिले एसइईको नतिजा जसरी सार्वजनिक भएको छ, यो झारा टार्ने काम मात्रै भयो  । परीक्षाको अवस्था बुझ्न र भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि सिस्टमबाट डेटा विश्लेषण गरेर नतिजा सार्वजनिक गर्नुपर्थ्याे ।  

डेटा विश्लेषण नगरेर लुकाएपछि विद्यालयले आन्तरिक मूल्यांकन कसरी गरे र? राम्रो गरे वा नराम्रो गरे र ? अघिल्लो वर्ष र अहिलेको ट्रेन्ड के छ भन्ने कसरी थाहा पाउने र ?’ उनले भने । डेटा विश्लेषण गरिएको भए परीक्षा मात्र होइन, पढाइ र संस्थाका कमजोरी सुधार गर्न पनि सहयोग पुग्ने लुइँटेलको भनाइ छ  ।

विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने सरकारको निर्णयसँगै अभिभावकले आफ्ना छोराछोरीलाई उच्च अंक दिन शिक्षक र विद्यालयलाई दबाब दिन थालेका थिए । स्रोतका अनुसार ठूला विद्यालयभन्दा सामान्य विद्यालयले विद्यार्थीलाई बढी अंक दिएका छन् ।

पुनर्योग र ग्रेडवृद्धि नहुने

आन्तरिक मूल्यांकन भएको र विद्यालयले प्रमाणीकरण गरेका आधारमा नतिजा सार्वजनिक भएकाले ०७६ सालको परीक्षामा सहभागी विद्यार्थीको पुनर्योग र ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ । विविध कारणले विद्यार्थीको नतिजा स्थगित भएमा, नाम, थर र जन्ममितिमा त्रुटि भएमा भने सम्बन्धित विद्यालयको सिफारिससहित ३५ दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

आन्तरिक मूल्यांकन ठीक नभए करिअरमै समस्या

एसइईको नतिजाले विद्यार्थीले कति जिपिए र कुन विषयमा कुन ग्रेड ल्यायो भन्ने मात्र नभई समग्र करिअरलाई समेत प्रभाव पार्छ । आन्तरिक मूल्यांकन सही नभए विद्यार्थीलाई जीवनभर तनाव पनि हुन सक्ने विज्ञहरू बताउँछन् ।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलका अनुसार यस वर्षको एसइईमा जिपिए ४ र उच्च जिपिए ल्याउने विद्यार्थी विगतमा भन्दा धेरै छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विद्यालयले गरेको आन्तरिक मूल्यांकन ठीक नभए विद्यार्थीको करिअरमा समस्या आउने बताए । ‘आन्तरिक मूल्यांकन सही नभए विद्यार्थीलाई भावी करिअरमा समेत तनाव हुन सक्छ । किनभने एसइईको नतिजाकै आधारमा विद्यार्थी कक्षा ११ मा भर्ना हुने हुन्,’ उनले भने ।

एसइईपछि कक्षा ११ मा छनोट गर्ने विषयले विद्यार्थीको भविष्यलाई समेत प्रभाव पार्छ । उच्च शिक्षा अध्ययनका लागि कक्षा ११ र १२ मा पढेका विषयका आधारमा भर्ना पाइन्छ । कक्षा ११ मा भर्ना पाउनका लागि एसइईमा प्राप्त गरेको ग्रेड र जिपिएलाई आधार बनाइएको छ ।

उच्च जिपिए र निश्चित विषयमा ग्रेडलाई आधार मानेर साइन्सका समूहमा भर्ना गर्ने मापदण्ड छ । कमजोर विद्यार्थीले उच्च जिपिए ल्याएर कक्षा ११ मा साइन्समा भर्ना हुने र अध्ययन गर्न नसक्ने अवस्था आउन सक्ने विज्ञहरूको भनाइ छ ।

तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले भने एउटै स्ट्यान्डर्डमा मूल्यांकन नभएकाले यस वर्षको एसइईमा पाएको उस्तै ग्रेडले विद्यार्थीको उस्तै क्षमता नदेखाउने बताए । विद्यार्थीको एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने भएकाले संवेदनशील विषय भएको उनले बताएकाे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *