काठमाडौ । समाजिक सन्जालको प्रयोगगरी आफु बेलायतको लन्डनस्थित बुपाक्याम्वाला अस्पतालको चिकित्सक भएको र नेपाल आएर तपाईँसँग बिवाह गर्छु भन्दै नेपाली युवतीलाई ठगी गर्दै आएका अफ्रिकन मुलुक अंगोलाका सिल्भा एन्टिनियो दा कोस्टालाई प्रहरीले पक्राउ गरेको छ ।
ती अफ्रिकन नागरिकले बिभिन्न नेपाली महिलालाई मायाजालमा पारी विवाहसमेत गर्ने भन्दै हिराको औठी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड स्ट्रलिङ पठाएको भन्दै भन्सार छुटाउने नाममा ४८ लाख ६४ हजार ४ सय २० रुपियाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
सिल्भाले राजधानीका केही महिलालाई आफ्नो मायाजालमा पारी ठगी गरेको पत्ता लागेपछि महाशाखाको टोलीले थप २० लाख भन्सार छुटाउनका लागि पैसा चाहिएको भन्दै ठगी गर्न लागेको बेला होटल सोल्टीबाट पक्राउ गरेको थियो ।
सो ठगको समुहले शुरुमा ती नाम नखुलाइएकी महिलालाई २० लाख लिएर बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएकोमा त्यहाँ सुरक्षा थ्रेट देखेपछि होटल सोल्टीमा ती महिलालाई २० लाख लिएर आउन आग्रह गरेका थिए । ती महिला पैसासहित होटल सोल्टीमा पुगेपछि अपराध महाशाखाको टोलीले सिल्भालाई पक्राउ गरेर उ बस्दै आएको होटल ठमेलमा छापा मारेर बिभिन्न सामान बरामद गरेको छ ।
पक्राउ परेका सिल्भा गत फागुनमा नेपाल आएका थिए । उनले यस अघि पनि एक नेपाली युवतीसँग त्यसैगरी ३७ हजार ठगी गरेका थिए । उनले नेपालमा बसेर नक्कली नोटको कारोवारसमेत गर्ने गरेको अनुसन्धानको पत्ता लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । प्रहरीले सिल्भाको साथबाट ३ लाख १५ हजार नेपाली, ९ सय अमेरिकी डलर, एटिएम कार्ड, कालो कागजको बन्डल, केमिकलहरु समेत बरामद गरेको छ ।
