थाहा नगरपालिकाको अनुकरणीय कामः हिसावकिताब दिनदिनै सार्वजनिक

टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ व्यवस्थापनका क्रममा भएको आम्दानी र खर्चको हिसाब दिनहुँ सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाको वेबसाइट र स्थानीय सञ्चारमाध्यमबाट दिनहुँ हिसाब सार्वजनिक गर्ने गरिएको नगरप्रमुख लवशेर विष्टले बताए । “आर्थिक सुशासन र पारिदर्शिताका लागि हामीले यसो गरेका हौँ, पहिले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टले पनि भित्तामा टाँसेर हिसाब सार्वजनिक गर्नुहुन्थ्यो, हामी पनि उहाँकै बाटो हिँड्दैछौँ”, नगरप्रमुख विष्टले भने ।

दैनिक हिसाबसहित कोभिड–१९ व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण दैनिक रुपमा सार्वजनिक गर्ने थाहा नगरपालिका मकवानपुरकै एकमात्र स्थानीय तह हो । थाहाले नगद आम्दानी र खर्चको मात्र हिसाब सार्वजनिक नगरी जिन्सी रुपमा प्राप्त आम्दानीसमेत बाँधेर सार्वजनिक गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । नगरपालिका कार्यालयका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्यानिटाइजर, भिटिएम, पिपिई, मास्क, राहत सामग्री, ¥यापिड टेस्ट किट, पञ्जा आदि प्राप्त गरेको छ ।

राहत, स्वास्थ्य तथा सरसफाइ सामग्री वितरणमा थाहा नगरपालिकाले एकद्वार प्रणाली अपनाएपछि सोही बमोजिम नगरपालिकाको कोरोना नियन्त्रण समितिमा सहयोग प्राप्त भएको र सोहीअनुसार व्यवस्थापन गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । खरिद गरिएका तथा सहयोग प्राप्त भएका सामग्रीको खर्च भएको अवस्था र बाँकी रहेको विवरण पनि थाहा नगरपालिकाले दैनिक प्रतिवेदनमार्फत सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले लकडाउन घोषणापछिको अवधिमा १४ हजार ३०० किलो चामल जम्मा भएकामा अहिले तीन हजार २६५ किलो मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी केही परिमाणमा दाल, नून, खाने तेल र साबुनसमेत नगरपालिकामा मौज्दात छन् । औषधि उपकरणजस्ता खर्च भएर जाने सामग्रीको समेत दैनिक लेखाजोखा गर्ने गरेको थाहा नगरपालिका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले बताए । उनका अनुसार कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न प्रयोग गरिने भिटिएम ५०२ वटा प्राप्त भएकामा २०२ वटा प्रयोग भएर ३०० वटा अझै बाँकी रहेका छन् । ५०२ मध्ये १८० वटा नगरपालिका आफैँले खरिद गरेको थियो भने ३२२ वटा सहयोगस्वरुप प्राप्त भएको थियो । स्वास्थ्य शाखाका अनुसार नगरपालिकामा सात हजार ४९५ सर्जिकल मास्क, ६ हजार २०० पञ्जा, ७२८ बोतल स्यानिटाइजर र ४७ सेट पिपिई अझै बाँकी रहेका छन् । यसरी कोभिड–१९ को व्यवस्थापनका क्रममा भएका सम्पूर्ण विवरण सार्वजनिक गर्दा नागरिकको नगर कार्यपालिकाप्रतिको भूमिका सकारात्मक रहेको र नगर कार्यपालिकालाई व्यवस्थापकीय समीक्षा गर्न सजिलो भएको नगरप्रमुख विष्टले बताए ।

थाहा नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सचिवालयले गत चैतको १३ गतेदेखि दैनिकरुपमा प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *