म्यानचेस्टर युनाइटेड अन्तिम आठमा

लन्डन । कोरोनाका कारण करिब पाँच महिनापछि सुचारु भएको यूरोपा लिगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी हुँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लिगमा युनाइटेडले पाहुना टोली लास्कमाथि २–१ को पुनरागमन जित निकाल्यो । अन्तिम १६ को दोस्रो लिगको खेलपछि यूनाइटेडले अस्ट्रियन क्लब लास्कलाई हराउँदै समग्रमा ७–१ को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । त्यसअघि यूनाइटेडले पहिलो लिगमा ५–० को फराकिलो जित निकालेको थियो । आफ्नो घरमा युनाइटेडलाई जिताउन जेसे लिंगार्ड र एन्थोनी मार्सियालले १–१ गोल गरे ।

युनाइटेडविरुद्ध पाहुना टोली लास्कले खेलको १०औं मिनेटमै अग्रता बनाएको थियो । सो गोल फिलिप वेसविंगरले गरेका थिए । तर, दोस्रो हाफमा युनाइटेडले पुनरागमन जित निकाल्यो । यूनाइटेडका लागि ५७औं मिनेटमा लिंगार्डले बराबरी गोल गरे । त्यसपछि ८८औं मिनेटमा मार्सियालले गोल गरेपछि खेल युनाइटेडले २–१ ले जित्यो ।

अब अन्तिम आठमा युनाइटेडले डेनिस क्लब कोपेनहेगनको सामना गर्नेछ । कोपेहेगनले पनि बुधबार राति नै भएको खेलमा टर्किस क्लब इस्तानबुल बासिकसेहिरलाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान तय गरिसकेको छ ।

त्यस्तै, इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गर्‍यो । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगको खेलमा इन्टरले स्पेनिस क्लब गेटाफेलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । यसअघि भएको पहिलो लिग गोलरहित बराबरीमा टुंगिएको थियो ।
पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको मिलानलाई जर्मनीमा भएको खेलमा जिताउन बेल्जियन फरवार्ड रोमेलु लुकाकु र डेनिस मिडफिल्डर क्रिस्टिएन एरिक्सनले गोल गरे । मिलानले खेलको ३३औं मिनेटमा लुकाकुको गोलमार्फत अग्रता लिएको थियो । उक्त गोलपछि लुकाकुले मिलानका लागि पहिलो सिजनमै सबैखाले प्रतियोगितामा गरी कुल गोलसंख्या ३० पुर्‍याएका छन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको मिलानका लागि खेलको ८३औं मिनेटमा एरिक्सनले दोस्रो गोल गरे । अब अन्तिम आठमा मिलानले रेन्जर्स र बायर्न लेभरकुसेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, शाख्तार डोनेत्स्कले पनि भिएफल उल्फ्सवर्गलाई समग्रमा ५-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
अन्तिम १६ अन्तर्गत बुधबार राति नै भएको दोस्रो लिगको खेलमा शाख्तारले उल्फ्सवर्गलाई ३-० ले पराजित गर्‍यो । पहिलो लिगको खेलमा शाख्तार २-१ ले विजयी बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *