बजेट अभावले कर्भडहल बन्न सकेन

बागलुङ । बागलुङ नगरपालिका–३ मा निर्माणाधीन बहुउद्देश्यीय कर्भडहलको काम गत वर्षदेखि ठप्प छ । बजेट अभावमा कर्भडहल निर्माण अधुरै छाडिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो ।पहिलो वर्ष खेलकूद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ । गत आवमा बजेट नआएपछि काम अघि नबढेको एकेडेमीका उपाध्यक्ष कमल खड्काले बताउनुभयो । उहाँका अनुसार बार, झ्यालढोका, शौचालयलगायत आन्तरिक साजसज्जाको काम बाँकी छ । “यो वर्ष खेलकूद मन्त्रालयबाट थप दश लाख बजेट छुट्टिएको छ, अपुग भएमा स्रोत जुटाएर भएपनि काम सक्छौँ”, उहाँले भन्नुभयो ।

माथिबाट आएको बजेटले नपुगेमा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । कर्भडहल निर्माणका लागि जग्गा पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो । खेलकुद गतिविधिसहित अन्य प्रयोजनमासमेत उपयोग गर्ने गरी कर्भडहलको निर्माण थालिएको हो । “ब्याडमिन्टन, तेक्वान्दो, कँरातेजस्ता खेलका साथै आवश्यक पर्दा स्थानीयवासीले हलका रुपमा प्रयोग गर्न मिल्ने गरी बनाउँदै छौँ”, उपाध्यक्ष खड्काले भन्नुभयो । स्थानीय गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्डहल समयमै बन्न नसकेकामा गुनासो गर्नुभयो ।

“एक÷डेढ वर्षदेखि कभर्डहल अलपत्र जस्तै छ”, उहाँले भन्नुभयो, “शुरु भइसकेको योजना यसरी बीचमै रोकिनु राम्रो होइन, सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।” वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले नगरको योजना नभएकाले सबै कुरा थाहा नभएको जानकारी दिनुभयो ।

उहाँले सङ्घ सरकारबाट थप बजेट आएकाले कर्भडहलको बाँकी काम यसै वर्ष पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण सम्पन्न नभएकाले कभर्डहलमा भएको काम पनि अस्तव्यस्त बनेको छ । कभर्डहलको भुइँ निर्माण सामग्री र फोहोर थुपार्ने स्थलका रुपमा प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *