USAID

निष्क्रियता र वैचारिक दिशाहिनताले पार्टीमा खतरा बढायोः प्रचण्ड


काठमाडौं । आन्तरिक विवाद उत्पकर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले पार्टीमा भएको संघर्ष पद प्राप्तिका लागि नभई पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्न रहेको बताएका छन् ।  प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बुधबार एक अन्तर्कियामा बताएका छन् ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन लागिपरेकाले जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् । 

कतिपयले पार्टीभित्रको विवादलाई “पद प्राप्ति” का लागि भनेर प्रचारबाजी गरिरहे पनि मुलत व्यक्तिवादी प्रवृत्तिका विरुद्ध रहेको बताएका छन् । पदका लागि नेकपामा लडाईँ भइरहेको भनाइ र प्रचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्दै प्रचण्डले “नेकपालाई मार्क्सवाद, लेनिनवादबाट निर्देशित पार्टी बनाउने वा मार्क्सवादको लेपन मात्रै लगाउने र बुर्जुवा मान्यतामा लैजाने भन्ने नै मुख्य लडाईँ हो” भनेका छन् । “समाजलाई रुपान्तरण र संगठित गर्दै सैद्धान्तिक आधार मानेर चल्नुपर्छ’, उनले भने, अहिले सत्ताले विवेकको नेतृत्व गर्ने कि विवेकले सत्ताको नेतृत्व गर्ने भन्ने मुख्य प्रश्न हो ।’

कम्युनिस्ट पार्टीको नाम र चरित्र उस्तै हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकार त्यसैअनुसार चल्नुपर्नेमा अहिले विधिसम्म्तरुपमा नचलेको स्पस्ट पारेका छन् । उनले नेकपालाई कमजोर बनाउन विभिन्नखाले शक्तिहरु लागिरहेको र त्यसका विरुद्ध एकजुट हुनुको विकल्प नभएको कुरामा पनि जोड दिए ।

‘नवउदारवादी पुँजीवादलाई अंगालो हालेर समाजवादको लक्ष्य पुरा नहुने तथा अहिलेको सरकार समाजवादको बाटो छोडेर पुँजीवादी अराजकतातर्फ गइरहेको तर्फ ईँगित गर्दै प्रचण्डले भने, ‘बदला लिने, निषेधको राजनीति गर्ने र व्यक्तिवादी प्रवृत्ति पार्टीमा हावी भएको छ ।”

वरिष्ठ नेता झलनाथ खनालले नेकपा आन्तरिक चुनौतीबाट गुज्रदैँ अन्तरपार्टी संघर्षको अवस्थामा रहेको भन्दै नेकपाभित्रको संघर्षलाई पद प्राप्तिका लागि भनेर प्रचार गर्न पार्टी कै केही नेता तथा व्यक्तिहरु लागि परेको बताएका छन् । नेता खनालले दुई पार्टी एकता घोषणा भएको लामो समयसम्म एकीकरणको बाँकी प्रक्रिया पुरा नगरी पार्टी कै एक अध्यक्षले पार्टीलाई भन्दा गुटलाई महत्व दिएर देशभर गुटका भेला चलाउनेलगायतका क्रियाकलाप बढाएकाले त्यस्तो गुटबन्दी र प्रवृतिकाविरुद्ध बहस गर्नुपरेको बताएका छन् ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले नेकपालाई आशा र भारोसाका रुपमा लिँदै जनमतबाट मुलुक सम्हाल्ने जिम्मेवारी दिए पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको बताएका छन । पार्टी विधि, पद्धति र घोषणापत्र अनुसार चल्न नसकेको भन्दै उनले पार्टी कमिटीको बैठक नै नबस्ने वा बस्न नरुचाउने प्रवृत्तिले नेकपालाई लठिभद्र बनाएको र पार्टी एकता कागजमै मात्र सीमित गराएको बताएका छन् । ‘पार्टी एकता घोषणा भएको वर्षौँ भइसक्यो, तर मुलुभूतरुपमा एकतापछि पार्टीभित्रको केन्द्रमै लठिभद्र ताल छ भन्ने पुष्टि भएको छ,” उनले भनेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *