लमजुङका १८ घर स्थानान्तरण

लमजुङ । पहिराको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ । पहिराले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजीकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित रुपमा आज स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनले भने, “केही दिनअघिको अविरल वर्षाले सो बस्तीका घरमाथि पहिरो आएको र बस्ती तलसमेत पहिरो गएको स्थलगत निरीक्षण गर्दा उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण गरेका हौँ।”

सोही बस्तीमा स्थानीय रहिरहेमा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले प्रजिअ शर्मा, सो गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा, स्थानीय जनप्रतिनिध लगायतको टोलीले बस्तीको स्थलगत निरीक्षण गरेका थिए । जोखिमयुक्त बस्तीको निरीक्षणमा उच्च जोखिम पाएपछि बस्ती स्थानान्तरण गर्दै आज नै जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट १८ घरलाई नै खाद्यान्न, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) का तर्फबाट गैरखाद्यान्न र नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका तर्फबाट त्रिपाल वितरण गरिएको प्रजिअ शर्माको भनाइ छ । यसअघि सोही वडाको तरापु पल्लोटारीमा गत ७ र ८ गतेको बाढीपहिराले ८३ घरधुरी विस्थापित भएका थिए । उनीहरुलाई समेत सुरक्षित स्थानमा राखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *