दलाई लामाका अनुयायीलाई सरकारले दियो अध्यक्ष पदको पुरस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको संविधानविरुद्धको अभियानमा खुलेर लागेका दलाई लामाका एक अनुयायीलाई सरकारले विशिष्ट श्रेणीमा नियुक्ती दिएको छ । मन्त्रिपरिषदले धार्मिक नेता दलाई लामाले नेतृत्व गरेको गेलुग् सम्प्रदायका ताप्लेजुङका फूपू छेम्पे शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

करिब एक महिनाअगाडि नियुक्त शेर्पाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार, नेपालको संबिधान र विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा, फोटो र ट्रोलहरु सामाजिक सञ्जालमा सेयरसमेत गर्दै आइरहेका छन् । एक चीनको नीतिमा प्रतिवद्धता जनाउँदै आएको नेपाल सरकारले दलाई लामा र उनीसँग सम्बन्धित कार्यक्रमहरुलाई नेपाली भूमिमा “चीनविरोधी गतिविधी”को संज्ञा दिदैँ प्रतिबन्ध लगाउँदै आएको छ । तर उनै दलाई लामाको जन्मोत्सव मनाउन लगाएको प्रतिबन्धतर्फ संकेत गर्दै नेपाल सरकारविरुद्ध शेर्पाले फेसबुक स्ट्याटसमा लेखेका छन्– “धार्मिक स्वातन्त्रको अधिकार, जन्म सिद्ध अधिकार, मानव अधिकार, सर्वभौमिकता भन्ने शब्द कागजको पानामै सिमित रहेको आभाष हुन थाल्यो ।”

२०७२ सालको असोज ३ गते संविधान जारी भएको दिनलाई “उत्पिडीत जनताको कालो दिन” भनेर उनले फेसबुकमा सेयरसमेत गरेका छन् । नेपालको संविधान जारी नगर्न विशेष दूत बनेर नेपाल भ्रमणमा आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरको पक्षमा उनी खुलेरै उभिएका थिए । हाल भारतको विदेशमन्त्री रहेका जयशंकरले नेपाली नेताहरुलाई राखेका पाँच प्रश्न शेर्पाले सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन् ।
नेपालको संबिधान विरोधी गतिविधिमा संलग्न व्यक्तिले त्यसैको अधिनमा काम गर्ने गरी नियुक्ती पाएपछि नेकपाका एक नेताले आश्चर्य व्यक्त गरेका छन् । ती नेताले डा. गोविन्द केशीको भोक हड्ताल र सरकारबिरोधी र्यालीमा शेर्पा धार्मिक भेषमा नै सहभागी भएको जानकारी दिए ।

नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको जन्म नेपालमा नभएर भारतमा भएको भन्ने दलाई लामाको विवादास्पद भनाइ सार्वजनिक भएपछि शेर्पाले आम नेपालीलाई दलाईको भाषा बुझ्न नसकेको आरोप लगाउँदै “दलाई लामाको अंग्रेजी नबुझेर नेपाली भुसुनाहरुले विरोध गरेका हुन्” भन्दै उनको बचाउसमेत गरेका थिए । यद्यपि केही समयपछि दलाई लामाले चाहिँ क्षमायाचनासहित शाक्यमुनि बुद्ध नेपालमै जन्मिएको भनेर सच्च्याएका थिए ।

यसअघि गुम्बा विकास समितिको रुपमा रहेको उक्त संस्था स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको थियो । स्थानीय विकास मन्त्रालयमा मागिएका निवेदनमध्येबाट चीनविरोधी मानिने स्वतन्त्र तिब्बत पक्षधर र दलाई लामाका अनुयायी मानिने गेलुग् सम्प्रदायका आवेदकहरुको नाम पहिलो चरणबाटै हटाउने गरिएको थियो । तिब्बती बौद्ध धर्मावलम्बीहरुमा गेलुगबाहेक काग्यु, साक्या र निङ्मा सम्प्रदायकाले राजनीतिमा कुनै चासो राख्दैनन् । तर संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयअन्तर्गत आएपछिको संस्थामा पहिलो अध्यक्ष नै चीनविरोधी गेलुग् सम्प्रदायबाट नियुक्त गरिएपछि मन्त्रिपरिषदको निर्णय विवादित बनेको छ । उनको नियुक्तीलाई लिएर चीनले नेपाल सरकारलाई उपयुक्त समयमा आपत्ति जनाउन सक्ने सम्भावना रहेको एक कूटनीतिज्ञले नेपाल समाजलाई बताए ।

उनको बाम राजनीतिक पृष्ठभूमीसमेत नभएको नेकपाका ती नेताले बताए । तिब्बती बौद्ध धर्मावलम्बीहरुमा नेकपाका जिल्लास्तरीय नेताहरु पनि छन् तर कुनै तह र पार्टीका कार्यक्रममा नदेखिएका शेर्पालाई कम्युनिस्ट सरकारले नियुक्त गरेपछि अन्य सम्प्रदायका कार्यकर्ता र नेकपाका नेताहरुसमेत रुष्ट भएको उनले जनाएका हुन् ।

सरकारी नियुक्तीपत्रमा उल्लेखित योग्यतामै त्रुटी

मन्त्रालयले दिएको नियुक्तीपत्रमा उल्लेख गरिएको शेर्पाको योग्यताको विषयलाई लिएर बौद्धधर्मका विज्ञ तथा गुरुहरुले आपत्ति जनाएका छन् । गुरु खेन्पो सोनामले सरकारले उनलाई दिएको पदलाई “राजनीतिक रङ्गले चामत्कारिक उपमा” को संज्ञा दिएका छन् । तिब्बती बौद्ध धर्मअनुसार गेलुग् सम्प्रदायभित्र “गेसे” उपाधी हुने र “खेन्पो” गुम्बाको प्रमुखको रुपमा रहेका हुन्छन् । उनलाई दिइएको “खेन्पो गेसे” भन्ने शब्दले मात्रै पनि नेपालमा भएका २७ सय निङ्मा गुम्बा र गेलुगकै १९ गुम्बाले प्रश्न तेस्र्याएको खेन्पो सोनामले सार्वजनिकरुपमै बताएका छन् ।

त्यसैगरी अर्का खेम्पो फुर्वाले पनि बौद्ध धर्म परम्परामा एउटै ब्यक्तिलाई “खेन्पो गेसे” भनेर कहीँ पनि सम्बोधन नहुने बताएका छन् । यसरी मन्त्रालयले आफ्नै लेटरहेडमा एउटै व्यक्तिलाई चलनमै नभएको दुबै पदको सम्बोधन गरेर “सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको अपमान” गरेको उल्लेख गरे ।

गुम्बा विकास समितिको अध्यक्ष छनौट प्रक्रियामा खेन्पो हुनैपर्ने “नेपाल राजपत्र”मा प्रष्टसँग लेखिएको छ । त्यसैले शेर्पाले हासिल नगरेको योग्यतामा मन्त्रालयले नियोजितरुपमा “खेन्पो” घुसाएको देखिन्छ । शेर्पाले अध्ययन गरेको कपन गुम्बाले समेत “गेसे”को रुपमा सम्बोधन गरेर बधाई दिएको छ । यसको अर्थ उनी “खेम्पो” नभएको उनी सम्बन्धित कपन गुम्बाले दिएको बधाईबाट प्रष्ट हुन्छ । गेलुग सम्प्रदायमा गुम्बाको प्रमुख मात्रै “खेम्पो” हुन्छ । त्यसैले शैक्षिक योग्यतासमेत आफै थपिदिएर नियुक्ती दिँदा मन्त्री याेगेश कुमार भट्टराई र मन्त्रालय ठिक निर्णय गर्नबाट चुकेको विज्ञहरुले उल्लेख गरेका छन् ।

अन्य निवेदकका फाइल गायब

अध्यक्षका अन्य प्रत्यासीहरुले आफूहरुको निवेदन मन्त्रालयले नै गायब बनाएको आरोप लगाएका छन् । अध्यक्ष पदका आकांक्षी खेन्पो सोनामले २०७६ साल मंसिर १ गते नम्बर २१७३ मा दर्ता गरेको कागजपत्र हराएपछि सोही नम्बरमा पुनः कागजपत्र दर्ता गरेका थिए । मन्त्रालयभित्रै कागजपत्र गायब पार्ने कर्मचारीलाई कारवाही गर्ने कि तपाईंलाई भनेर उनले मन्त्री भट्टराईलाई प्रश्न पनि सोधेका छन् ।

त्यसैगरी अर्का प्रत्यासी खेम्पो फुर्वाले २०७६ साल जेठ २ गते ६१५६ नम्बरमा मन्त्रालयमा दर्ता गरेको निवेदन, कागजपत्रसहितका फाइल एक महिनामै हरायो । यसरी मन्त्रालयबाट कागजपत्रसहितको फाइल हराउनु मन्त्रालयको गैरजिम्मेवारपूर्ण व्यवहार भएको भनेर झगडा गरी फेरि उही दर्ता नम्बरमा समावेश हुने गर्ने गरी उनले कागजपत्र बुझाएका थिए ।

शेर्पाले लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यकारी सदस्यका रुपमा काम गरिसकेका छन् र त्यही हैसितमा प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा समेत सहभागी भएका थिए । गैरसरकारी संस्था नेपाल बौद्ध महासंघमा काम गरेको अनुभव पनि उनीसँग छ । अध्यक्ष पदमै रहेका बेला उक्त संस्थाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन सुरु गरेको हो । शेर्पाले आफ्नै नाममा नभई छद्म नाम (फियर लेस) मा फेसबुक खोलेर चलाईरहेका छन्, जहाँ उनका सरकार, संविधान, प्रधानमन्त्री ओलीविरुद्धका सबै पोष्ट र सेयर हेर्न सकिन्छ ।

शेर्पाले पाएकाे गेसे प्रमाणपत्र, याे उनकाे उच्च शैक्षिक याेग्यता हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *