प्रदेश सरकारका योजनाहरु प्रभावकारी भएको मुख्यमन्त्री पौडेलको भनाइ

वाग्मती । वाग्मती प्रदेशका देशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताएका छन् ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गरे । प्रदेश प्रमुख विष्णु प्रसाईसहित थाहा पुगेका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवर्द्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन प्रवर्द्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राखे ।

भ्रष्टाचारमुक्त प्रदेश बनाउन निर्देशन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रदेश सरकारको नीतिलाई आत्मसात् गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रदेशका मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानको पहिलो कडी सुशासन भएको र भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रदेश सरकारको ध्ययअनुरुप काम गर्न अनुरोध गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौँडामा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु तथा मन्त्रालय मातहतका प्रदेशका सबै कार्यालयका प्रमुखलाई निर्देशन दिँदै मन्त्री फुयाँलले मन्त्रालय मातहतका कार्यालयहरुले बजेटको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री फुयाँलले साउन १ गतेदेखि नै बजेट कार्यान्वयन चरणमा प्रवेश गरिसकेकाले पहिलो चौमासिकमा गर्ने भनिएका कामको दोस्रो चौमासिकमा समीक्षा गरिने उल्लेख गरे । उनले तेस्रो चौमासिकको मध्य सम्ममा कार्यसम्पादन नै पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । मन्त्री फुयाँलले भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर यातायातको क्षेत्रमा समेत जनतालाई अनुभूति हुनेगरी परिवर्तन ल्यान काम गर्नुपर्नेमा जोड दिए ।

यसैबीच मन्त्रालयका सचिव तेजराज भट्टले मातहतका प्रमुखसँग कार्यसम्पादन करार गरेका छन् । त्यस्तै महाशाखा प्रमुखहरुले मातहतका कार्यालय प्रमुखहरुसँगसमेत कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *