खेलकुद परिषदको सदस्य सचिवमा पुनः सिलवाल

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नियुक्त गरेको छ । राष्ट्रिय खेलकूद विकास ऐन २०७७ अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्य सचिव नियुक्त गरेको हो । करीब १ महिनाअघि नयाँ खेलकुद ऐन लागू भएसँगै पदमुक्त भएका सिलवालले दोस्रो पटक राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नियुक्ति पाएका छन् ।

सिलवालले यसअघि राखेपको नेतृत्व सम्हालेको छोटो अवधिमा नै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए । त्यस्तै, शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त भएका छन् ।

सोमबार दोस्रो पटक सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक भने नेपाली खेलकुदमा पहिले जत्तिक्कै शक्तिशाली भने हुनेछैनन् । राष्ट्रिय खेलकूद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै परिषदको भूमिका कमजोर र सदस्य सचिवको शक्ति खुम्च्याइएको छ ।

ऐनमा राखिएका थुप्रै बुँदा अनुसार विगतमा भएको सदस्य सचिवको एकल निर्णयाधिकारको प्रावधान अब ७ सदस्यीय कार्यकारी समितिमा सरेको छ । सदस्य सचिव संयोजक रहने सात सदस्यीय कार्यकारी समितिमा २ सदस्य मन्त्रीले नियुक्त गर्नेछन् भने दुई सदस्य सदस्य सचिवले गर्नेछन् । त्यस्तै, बाँकी २ मा एकजना मन्त्रालयका खेलकूद महाशाखा प्रमुख र परिषदका प्रशासन विभाग प्रमुख रहनेछन् ।

नयाँ ऐनअनुसार सदस्य सचिवको पद पहिलोपटक खुल्ला छनोट प्रक्रियाबाट गरिएको हो । नियम अनुसार मन्त्रालयद्वारा गठित सिफारिश समितिमा २७ जनाको आवेदन परेको थियो । ती २७ जनामध्ये एकजना महिला सहित ३ जना सदस्य सचिव उम्मेदरवारको नाम मन्त्रिपरिषदमा सिफारिश गरिएको थियो ।

जसमा राखेपका वर्तमान सदस्य सचिव सिलवालसहित लीलबहादुर थापा र अञ्जु श्रेष्ठलाई सिफारिस गरिएको थियो । जसमध्ये सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई नै सदस्य सचिवको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *