३० जिल्लाबाट प्राप्ताङ्क आएन, एसईईकाे रिजल्ट ढिलो हुने

काठमाडौं । एसईई परीक्षाको परीक्षाफल निर्धारित समयभन्दा ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिनुभयो । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन ।

‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।

विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।

मन्त्री परिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको थियो ।

तर करिब दुई सातादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन नसकेको आज नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *