अष्ट्रेलियास्थित नेपाली दूताबासको किर्ते कागज बनाई करोडौँको जग्गा किनबेच गर्ने फरार

काठमाडौँ । अष्ट्रेलियास्थित नेपाली राजदूताबासको नक्कली कागज बनाएर दलालहरुले अर्कैको नाममा रहेको झण्डै ५० करोड पर्ने जग्गा किनबेच गर्ने क्रममा वीरगञ्जबाट बेपत्ता भएका छन् ।
वीरगञ्जकै स्थानीय गिरीधारीलाल अग्रवालले चल्तीको मूल्यमा ५० करोड रुपियाँ पर्ने करिब साढे ६ कठ्ठा जग्गा १८ करोडमा किन्ने तयारी गरेका थिए । बैनाबापत २ करोड रुपियाँ भुक्तानी गरेपछि मालपोत कार्यालय बीरगंजमा ती सबै जग्गा रोक्का गरिएको थियो ।

जग्गा पास गर्ने दिनमा दलालहरु नआएपछि उनीहरुले पेश गरेका कागजपत्रमाथि मालपोत कार्यालयका अधिकारीहरुले शंका गरेका थिए । मालपोत कार्यालयले कागजपत्रको बैधानिकतामाथि प्रश्न उठाएपछि आफ्नो नाममा पास गर्न सम्पूर्ण तयारीका साथ कार्यालय पुगेका अग्रवाल पनि अहिले सम्पर्कविहीन छन् ।

अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ललितपुर ३ का राकेश राज भण्डारी र रुपेस राज भण्डारीकी आमा कमला राज भण्डारीको नाममा वीरगंज महानगरपालिका ५ रहेको चार कित्ताको जग्गा नक्कली दाजु मुकेश राज भण्डारी खडा गरी पास गर्न आवश्यक सबै तयारी पूरा गरेका थिए ।

नेपाल समाजले अष्ट्रेलियास्थित नेपाली राजदूताबाससँग सम्पर्क गरि उक्त सिफारिसपत्र सक्कली हो कि नक्कली हो भनेर भेरिफाई गरिदिन अनुरोध गरेको थियोे । उक्त सिफारिसपत्र नक्कली भएको राजदूताबासका अधिकारी यादब कोइरालाले जानकारी दिएका छन् ।

बीरगञ्ज महानगरपालिका वडा नं. ५ मा रहेको सिट नं. ०३९०/१३ र ०३९०/१४ कित्ता नं. ७१, ३, १८६, १४३ को जग्गा पाँच वर्षअगाडि दिवंगत भइसकेकी आमाको नाममा रहेको र आफ्नै नेपालमा रहेका सहोदर दाजु मुकेश राज भण्डारीको नाममा पास गर्नका लागि मञ्जुरीनामा दिएको उल्लेख छ ।

मालपोत कार्यालयमा पेश गरिएको ललिपुर उपमहानगरपालिका वडा नं. ३ बाट मिति २०५१ साल भाद्र २० गते बनाइएको पिता गोपाल राज भण्डारीको मृत्युदर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिरीको नाम र थरसमेत छैन । त्यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालबाट २०५१ साल असोज १८ गते जारी राकेश राज भण्डारी र २०५६ साल जेठ ११ गते जारी रुपेश राज भण्डारीको नागरिकता प्रमाणपत्रमा प्रमाणपत्र दिने अधिकारीको नाम थरसमेत छैन । त्यसैले दलालहरुले पेश गरेको राकेश र रुपेशको नागरिकताको प्रमाणपत्रसमेत नक्कली देखिन्छ ।
मालपोत कार्यालय पर्साले जगा किनबेचका क्रममा पेश गरिएका सबै काजपत्रको बैधानिकताको बारेमा छानविन गरिरहेको छ ।

परराष्ट्रमन्त्रालयका एक अधिकारीले पनि अष्ट्रेलियास्थित नेपाली राजदूताबासबाट बनाइएको भनिएको उक्त मञ्जुरीनामा नक्कली रहेको बताए । दुबै फोटोमा राजदूतको सही हुनुपर्नेमा नभएको र राजदूतको सही पनि गाह्रो गरी मिलाउन खोजिएको उनले बताएका छन् । विदेशस्थित नेपाली कूटनीतिक नियोगले उपलब्ध गराउने हरेक मञ्जुरीनाको डिजिटल कपी परराष्ट्र मन्त्रालयको काउन्सेलर शाखाको वेभसाइटमा समेत अपलोड गरिने भएकाले त्यस्ता सामग्रीको बैधता नेपालमै प्रमाणिकरण गर्न सकिने पनि उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *