कोरोना खोप अनुसन्धान चोर्ने प्रयास गरेको रुसमाथि अमेरिका, बेलायतको आरोप

लन्डन । विश्व महामारीका कारण संकट बनेको कोरोना भाइरस संक्रमणबाट मुक्ती पाउन विश्वका कयौं देश र संस्थाहरु लागि परेका छन् । यसबीच केही देश तथा संस्थाहरुले कोरोना खोप विकासमा सफलता हासिल गरेको समाचार आइरहेका छन् ।

कोरोना खोप विकासमा चीन, अमेरिका, बेलायत, रुस, अष्ट्रेलियालगायत केही देशबीच होड नै चलेको छ । यस क्रममा अमेरिकाको मोडर्ना र बेलायतको अक्सफोर्डले खोपको मानव परिक्षणमा पनि सफलता हासिल गरेको र उत्पादनको तयारीमा जुटेको समाचारले कोरोना आक्रान्त विश्वलाई केही राहत प्रदान गरेको छ ।


यसैबीचमा अमेरिका, बेलायत र क्यानाडाले रुस माथि खोप अनुसन्धान चोरी गर्ने प्रयास गरेको आरोप लगाएको छ । तीनैवटा देशले रुस मेडिकल संगठन र युनिभर्सिटिजमाथि साइबर हमला गरि अनुसन्धान डाता चोर्ने प्रयास गरेको दावी गरेका छन् । क्रेमलिनले उक्त आरोपको खन्डन गरेको छ । अमेरिका र बेलायत बाहेक रुसले पनि हालै मात्र उसको कोरोना भाइरस खोपको प्रारम्भिक परिक्षण प्रभावकारी भएको दावी गरिसकेको छ ।

तीनैवटा देशले रुस बौद्धिक सम्पदा चोर्ने प्रयासमा साइबर हमला गरिरहेको र उनीहरुसँगै कोरोना भाइरस खोप विकास गर्न चाहेको बताएका छन् । तीनै वटा देशले एक संयुक्त विज्ञप्ती जारी गर्दै एपीटी२९ (कोजी बियर) नामको ह्याकिंग ग्रुपले उक्त अभियान चलाइरहेको दावी गरेका छन् । सुरक्षा प्रमुखले उक्त समुह रुसी गुप्तचर एजेन्सीको हिस्सा भएको र क्रेमलिनको इशारामा काम गर्ने बताएका छन् ।

बेलायत र रुसबीच पहिलै गहिरिएको कुटनितिक स्तरको तनाव यस आधिकारिक विज्ञप्तीले थप बढ्न सक्ने अनुमान गरिएको छ । विज्ञप्तीमा साइबर हमला कहाँ गरिएको हो भन्ने जानकारी नखुलाइएको भएपछि फार्मास्युटिक र एकेडमिक संस्थानहरुलाई निशाना बनाइएको उल्लेख गरिएको छ ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले सहयोगीहरुसँग मिलेर उक्त हमलाका जिम्मेवार ब्यक्तिमाथि कारवाही गर्ने बताएका छन् । कोरोना भाइरसको महामारीसँग लडिरेका संस्थानहरुमाथि रुसको गुप्तचर एजेन्सीहरुको हमला स्वीकार्य नहुने उनले बताए ।

यसअघि रुसले विश्वकै पहिलो कोरोना भाइरस खोप तयार गरेको र यो प्रभावकारीरुपमा सफल प्रमाणित भइसकेको दावी गरेको थियो । रुसले आफनो ट्विटर अकाउन्टमा पनि यस विषयमा जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *