सूर्य नेपालद्वारा प्रदेश १ सरकारलाई एक करोड प्रदान

काठमाडौँ । प्रदेश नं. १ सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज एक करोड रुपियाँको चेक प्रदान गरेको छ ।

मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा एक करोड रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकाले सङ्क्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको विचार व्यक्त गरे ।

उनले सहयोगका लागि धन्यवाद दिँदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिँदै सीमा सुरक्षा व्यवस्थित गरिएका कारण प्रदेशमा सङ्क्रमितको सङ्ख्यामा कमी आएको जानकारी दिए ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको बताउँदै आगामी दिन आवश्यक्तानुसार थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यसअघि उपाध्यक्ष केसीले एक/एक करोड रुपैयाँको चेक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेका छन् । त्यसैगरी कम्पनीको तनहुँ कारखानाका प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

कोरोना भाइरस हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले सामान्य जनजीवनमा ठूलो असर गरिरहेको बेला उक्त आर्थिक सहयोगले कोरोना भाइरसको महामारीविरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको लिएको छ । सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत् यसअघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न उद्धारकार्यहरुमा सहयोग गर्दै आइएको छ ।

सूर्य नेपालले बाराको सिमरा, तनहुँको सेराटार र मोरङको विराटनगरस्थित उद्योगबाट विश्वस्तरीय गुणस्तरीय उत्पादन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *