कोरोनाविरुद्ध लड्न सूर्य नेपालको ७ करोड सहयोग

  • 7
    Shares

काठमाडौँ । सूर्य नेपाल प्रालिले कोभिड–१९ काे महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउन ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड रुपैयाँका दरले सातै प्रदेशलाई सहयोग गर्ने सूर्य नेपालले जनाएको हो ।

कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले घोषणा गरिएअनुसारको एक/एक करोड रुपैयाँको चेक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरेका छन् । त्यसैगरी कम्पनीको तनहुँ कारखानाका प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनलाई पनि आजै भाइस प्रेसिडेन्ट केशीले एक कराेड रुपियाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ । प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

प्रत्येक प्रदेशका कोरोना कोषअन्तर्गत प्रदेश नं १ को कोरोना जनसुरक्षा कोष विराटनगर, प्रदेश २ को कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष जनकपुर, बागमती प्रदेशको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष हेटौंडा, गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष पोखरा, प्रदेश ५ को कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष बुटवल, कर्णाली प्रदेशको विपद् व्यवस्थापन कोष विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष धनगढीलाई एक/एक करोड सहयोगस्वरूप प्रदान गरिने कम्पनीले जनाएको हाे ।

कोरोना भाइरस हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले सामान्य जनजीवनमा ठूलो असर गरिरहेको बेला उक्त आर्थिक सहयोगले कोरोना भाइरसको महामारीविरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको लिएको छ । सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत् यसअघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न उद्धारकार्यहरुमा सहयोग गर्दै आइएको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव तत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमा सहयोग प्रदान गरेको बताएको छ । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको भाइस प्रेसिडेन्ट केशीले नेपाल समाजलाई बताएका छन् ।


  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *