विवादित व्यवसायी खड्काद्वारा वैदेशिक रोजगार बोर्डबाट राजिनामा

काठमाडौं । मेडिकल व्यवसायी कैलाश खड्काले वैदेशिक रोजगार बोर्डको सदस्यबाट राजीनामा दिएका छन् । बोर्ड सदस्यका रुपमा भएको मनोनयनबारे सुरुमै विवाद भएपछि खड्काले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो ।

यादवले केहि दिन अघी बोर्डमा दुई जना नयाँ सदस्य मनोनित गरेका थिए । वैदेशिक रोजगार विशेषज्ञ सदस्यका रुपमा मनोनित भएका खड्का विगतमा सरकारबाटै विदेसिने श्रमिकमाथि ठगीको आरोपमा कारवाही गरिएका मेडिकल व्यवसायी हुन् । यसअघि एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङले बोर्डमा सदस्यका रुपमा बस्न नसक्ने भन्दै असमर्थतापत्र दिइसकेका थिए ।


श्रम मन्त्रालयले डेढ वर्षअघि मात्रै खड्कालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसहित भिसा प्रक्रियाका लागि खडा गरिएको ‘बायोमेट्रिक प्रणाली’ भित्र्याउन मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको थियो । मलेसिया जाने श्रमिकलाई राज्य संयन्त्र नै प्रयोग गरी सिन्डिकेट गरेर ठगी गरेको अभियोगमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले उनीमाथि कारबाही चलाएका थिए । उनी प्रहरीको फरार सूचीमा रहेपनि उनलाई राजनीतिक संरक्षण दिइएको थियो ।

२०७० सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङ र मलेसियाका गृह मन्त्रालयका अधिकारीसँग मिलेर खड्काले मलेसियन बेस्टिनेट कम्पनीसँग नेपालमा सिन्डिकेट खडा गर्ने गरी बायोमेट्रिक प्रणाली भित्र्याएका थिए । बायोमेट्रिक सहितको व्यवस्था बन्द गर्न २०७५ जेठ २ देखि एक वर्षभन्दा बढी समयसम्म मलेसियामा नेपालले कामदार पठाउन नै बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *