USAID

दाउन्नेमा पहिरोले कार र ट्रक पुरियो, पूर्वपश्चिम राजमार्ग बन्द


परासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा खसेको पहिरोमा एउटा ट्रक र कार पुरिएको छ । पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् ।

पहिरो खसेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

बुटवल–पोखरा राजमार्ग सोमबारदेखि नै अवरुद्ध

त्यस्तै बुटवल–पाल्पा खण्डको दोभानमा सोमबार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरीले जनाएको छ । बुटबल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुङ्गा खस्दा सोमबारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सोमबार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुङ्गा भएकाले समस्या भएको छ । ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *