USAID

विपदविरुद्ध लड्न केन्द्रदेखि स्थानीय तहसम्म सात निकाय सक्रिय


काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र तहदेखि स्थानीय तहसम्म सातवटा निकाय सक्रिय छन् । ती निकायहरूबीच आवश्यक समन्वय र सहकार्यले विपद्सित लड्ने ऊर्जा प्राप्त गर्न सक्ने भए पनि प्रभावकारी समन्वय भने देखिन सकेको छैन ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी र मनसुन सक्रिय भएसँंगै बाढी, पहिरो, डुबानलगायत विभिन्न विपद् घटनाका कारण जनधनको क्षति हुने क्रम जारी छ । तर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनस्र्थापना कार्यले अपेक्षित गति लिन सकेको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहेको छ । समितिमा दुईजना मन्त्रीसहित विभिन्न मन्त्रालयका सचिवहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस लगायत प्रतिनिधि सदस्य छन् । कार्यकारी समितिअन्तर्गत गृह मन्त्रालय मातहत रहने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरिएको छ । सो प्राधिकरणले प्रदेश, जिल्ला र स्थानीय तहसँग विपद् व्यवस्थापनमा समन्वय, सहकार्य र सहजीकरण गर्ने छ ।

त्यस्तै प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्, प्रदेश गृहमन्त्रीको अध्यक्षतामा प्रदेश कार्यकारी समिति, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति, गाउँपालिका र नगरपालिका स्तरीय स्थानीय तह व्यवस्थापन समिति रहेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल प्रदेश, जिल्ला तथा स्थानीय तहका समितिसंँग प्राधिकरणले समन्वय, सहकार्य र सहजीकरण गर्दै आएको बताए । विपद् व्यवस्थापनका लागि यो संयन्त्र बलियो भए पनि प्रभावकारी हुन नसकेको उनले स्विकार गरेका छन ।

विगतमा गृह मन्त्रालयले सञ्चालन गर्दै आएका विपद् न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामकारबाही प्राधिकरणले सञ्चालन गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणको गठन र विपद् एकैसाथ आइलागेका कारण छिटो काम हुन नसकेको हो । प्राधिकरणको कार्यालय नै अव्यवस्थित गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावितको उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्यमा अपेक्षाअनुरूप कामको गति बढाउन सकेको छैन ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ७४ अनुसार प्राधिकरण गठन गरिएको हो । प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भए पनि आवश्यक जनशक्ति तथा भौतिक संरचना निर्माण हुन नसक्दा द्रूत गतिमा कार्य सञ्चालन गर्न नसकिएको हो । प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलको सचिवालय बबरमहलस्थित भाडाको सरकारी भवनमा छ भने अन्य विपद्सम्बन्धी काम कारबाही तथा गतिविधि सिंहदरबारस्थित गृह मन्त्रालयबाट हुने गरेको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *