सांसदलाई विपद्मा जुट्न सभामुखको आह्वान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विपद्मा परेका नागरिकलाई छिटो उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरुलाई आह्वान गर्नुभएको छ ।

सभामुख सापकोटाले आज जारी गरेको अपिलमा विपद्का बेलामा सांसदहरुले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आआफ्नो ठाउँबाट पहल गर्न प्रदेश र स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको उल्लेख विपत्तिमा परेका नागरिकको यथाशक्य छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

“विपद्बाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछुु”, अपिलमा भनिएको छ ।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको बताइएको छ । सभामुख सापकोटाले तयारीलाई तीव्रता दिन, बेपत्ताको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मनसुन जारी रहेकाले खासगरी जोखिममा रहेका भूभाग, नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गर्नुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई विशेष सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।

सिन्धुपाल्चोकका २० सहित दर्जनौँ नागरिक बेपत्ता छन् । सयौँ घाइते छन् । मृत्यु र बेपत्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । गुल्मी, सङ्खुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वतलगायतका हिमाली र पहाडी जिल्लामा बाढी, पहिरा र डुबानका कारण ८ सय हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराईका जिल्ला जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामीण सडक तथा पुलमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण बाढी पहिराबाट एक महिनाभित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिराका कारण जनधनको ठूलो क्षति भएको छ ।

कोभिड–१९ का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसँग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । यही असार २४ गते यताको निरन्तरको भारी वर्षाका कारण देशका अधिकांश जिल्लामा बाढी, पहिरो र डुुबानले ठूलो मानवीय र भौतिक क्षति हुन पुुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *