USAID

लम्जुङ र पोखरामा पहिरोमा परी सातको मृत्यु, दर्जन घाइते


काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिलोका कारण लम्जुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । त्यसैगरी पोखरामा पनि पहिराेमा चार जनाकाे मृत्यु भएको छ ।

लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको घरदेखि करिब २५÷३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उनको परिवारका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताए । घरभित्र पुरिएको अवस्थामा शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए । २६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको भनाइ छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पुनले बताए ।

पोखराको पहिरोमा चारको मृत्यु, नौ घाइते

त्यसैगरी अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभए पनि तीन बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *