आजदेखि अधिक वर्षा हुने, जोखिम क्षेत्रमा नबस्न आग्रह

काठमाडौँ । मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षा भई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ ।

आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताउनुभएको छ ।

कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहेका बेला पुनः विपद्जन्य सङ्कट उत्पन्न भएकाले त्यसलाई सामना गर्न र जनधनको सुरक्षा गर्नु अहिले प्रमुख चुनौती खडा भएको उहाँको भनाइ थियो ।

मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिनुभएको छ । उहाँले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । “विपद्मा कमभन्दा कम क्षति होस्, जनताको जीउधनको क्षति रोक्न सकौँ, हामी सबै त्यसमा लाग्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले आगामी चार दिन अझै धेरै वर्षा हुने अनुमान गरिएकाले थप सचेत हुन नदी किनार आसपासका क्षेत्रका बासिन्दासँग अनुरोध गर्नुभयो ।

गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिनुभयो ।

मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।

विपद्को पुर्वानुमान गरिएको पहिलो दिन आज बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पुर्याएको छ । अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *