भोटेकोशी बाढीको उद्दार र राहतमा कुनै सम्झौता नगर्न सभामुख सापकोटाको निर्देशन

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । आँखाको सल्यक्रियापछि आराम गरिरहेका सभामुख सापकोटा आँखाको पट्टिसँगै घटनास्थल पुगेर स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएका हुन् ।

स्थलगत अवलोकनका क्रममा बाग्मती प्रदेशका मन्त्री, जिल्ला विपद ब्यवस्थापन समितिका अधिकारी, सुरक्षा अधिकारी, जनप्रतिनिधिलगायतलाई बाढी–पहिरोमा परी घाइते हुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नगर्न पनि उनले जोड दिएका छन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार घटनामा परी घाइते ६ जनालाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौँको हेम्स अस्पतालमा उपचारको ब्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता २० जनाको खोजी र पूर्णरुपमा विस्तापित ३७ घरपरिवारको ब्यवस्थापन गर्न पनि सभामुख सापकोटाले निर्देशन दिएको न्यौपानेले नेपाल समाजलाई घटनास्थलबाट टेलिफोनमा बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतका राहत सामग्री वितरण गरिसकेको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेकाे पनि न्याेपानेल जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *