कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुको बहादुरगंजमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन् ।
उनले एमालेलेमात्रै देश बनाउने दाबी गर्दै कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने बताए। उनले भने, ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन ।’
उनले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको समेत दाबी गरे । महासचिव शंकर पोखरेलले एमाले चुनावमा जान नडराएको बताए । पोखरेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको दाबी समेत गरे ।
सोही कार्यक्रममा कपिलवस्तुका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरि ६ हजार भन्दाबढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले दाबी गरे ।
