काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले देशभरका प्रहरी कार्यालयमा कार्यरत प्रवक्ता तथा सूचना अधिकारीलाई जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित भर्चुअल सम्मेलनमार्फत उनले देशभरका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीलाई आवश्यक निर्देशन दिएका हुन् । कार्यक्रममा काठमाडौं उपत्यकास्थित प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूको समेत उपस्थिति थियो ।
डीआईजी काफ्लेले आमनागरिक तथा सरोकारवाला निकायसँग सूचना आदानप्रदान गर्दा सूचनाको हक र गोपनीयताको हकलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले संगठनका प्रमुखबाट भएका निर्देशन तथा विभिन्न विभागीय परिपत्रहरू पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिए ।
त्यस्तै, प्रहरी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा प्रहरी आचारसंहिता पालना गरे–नगरेको नियमित अनुगमन गर्न उनले निर्देशन दिएका छन् । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रहरी नियमावलीबमोजिम कारबाही गरिने पनि उनले स्पष्ट पारेका छन् ।
