एजेन्सी । प्रतिष्ठित युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा रियल म्याड्रिड र इन्टर मिलान भिड्दैछन् । इस्टेडियो सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । यसअघिनै समूहचरण पार गरिसकेका दुवै टोली आज शिर्ष स्थानको लागि भिड्दैछन् । शेरिफसँग पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको म्याड्रिड त्यसपछिको सबै ४ खेल जित्दै १२ अङ्कको साथ समूहको शिर्ष स्थानमा रहेको छ । पछिल्लो ८ खेलमा जित निकालेको म्याड्रिड ला लिगाको शिर्ष स्थानमा रहेको छ ।
अक्टोबरको शुरुवातमा इस्पानियोलसँग २-१ गोलको हार बेहोरेपछि म्याड्रिड ११ खेलमा अपराजित रहेको छ । सिजनको शुरुवातमा १३ पटकको च्याम्पियन रियल म्याड्रिडलाई उपाधिको दाबेदारको रुपमा नहेरिएपनि पछिल्लो समय टोली अन्य टोली भन्दा बलियो देखिएको छ । टोलीका मुख्य स्ट्राइकर करिम बेन्जिमाले आजको खेल गुमाउनेछन् । शनिबार रियल सोसिडाडविरुद्ध भएको खेलमा चोट बोक्दै मैदान छोडेका बेन्जिमाको स्थान लुका जोभिकले लिने सम्भावना छ । जोभिकले सोसिडाड विरुद्ध बेन्जिमाको स्थानमा मैदान प्रवेश गर्दै एक गोल र एक एसिस्ट दिएका थिए ।
यता इन्टर मिलानपनि उत्कृष्ट फर्ममा रहेको छ । इटालियन लिग सिरि ए अन्तर्गत शनिबार रोमाविरुद्ध भएको खेलमा ३-० गोलको शानदार जित निकालेको इन्टरले पछिल्लो ५ खेलमा सतप्रतिशत नतिजा निकालेको छ । घरेलु लिगमा इन्टर शिर्ष स्थानको एसी मिलान भन्दा मात्र १ अङ्कले पछि रहँदै दोस्रो स्थानमा छ । इन्टर कम्तिमा दोस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गर्ने पक्का भइसकेको छ ।
हाल इन्टर ५ खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । २०१० को च्याम्पियन्स लिग विजेता इन्टर २०११/१२ सिजनपछि पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको हो । इन्टरले प्रतियोगिताको पछिल्लो २१ खेल मध्य मात्र ६ खेलमा जित निकालेको छ । इन्टरले स्पेनमा खेलको पछिल्लो ५ खेलमा हार बेहोरेको छ । स्पेनमा लगातारको खराब प्रदर्शनलाई सुधार्ने दाउमा इन्टर रहेको छ ।