काठमाडाैँमा तीन कैदीको मृत्यु, एकमा कोरोना पुष्टि

काठमाडौँ । केन्द्रीय कारागारका मृत्यु भएका तीन कैदीबन्दीमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । कारागार कार्यालयका अनुसार दुई जनाको सोमबार र एक जनाको आज मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुमध्ये एक जनाको मेगा अस्पतालमा मृत्यु भएको हो भने अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो । मेघा अस्पतालमा मृत्युभएका ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ ।

जलर लक्ष्मीप्रसाद बाँस्कोटाले दिएको जानकारीअनुसार मृत्यु हुने अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट आउन बाँकी छ । केन्द्रीय कारागारका हालसम्म ५२ जना कैदीबन्दीमा संक्रमण पुष्टि भइसकेको छ ।

कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको छ । अन्य कैदी÷बन्दीमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको भए पनि परीक्षण हुन सकेको छैन । केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुले जेलमा कोरोना समस्या बढेको भन्दै कैदीहरुलाई पछि फर्कने कागज गराएर छाड्न प्रस्ताव गरेका छन् । सोहीअनुसार गृह मन्त्रालयले दुई तिहाई कैद भुक्तान गरिसकेकालाई समाजमै निगरानीमा रहने गरी छाड्ने प्रक्रियाबारे छलफल थालेको बताइएको छ । धेरैमा संक्रमण देखिएपछि व्यवस्थापनबारे माथिल्लो निकायसँग छलफल भइरहेको बाँस्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *