नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै कांग्रेस शीर्ष नेता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू पार्टीको नेतृत्वमा टिक्न र पुग्न सभापतिका अन्य आकांक्षीलाई विधानसँग मेल नखाने पदको आश्वासन दिन सक्रिय भएका छन्।

पार्टीलाई विधिविधानअनुसार अघि बढाउने दाबी गर्ने दुवै पक्षका नेता नेतृत्वमा पुग्नकै लागि विधानसँग मेल नै नखाने पद देखाएर एकअर्कालाई फकाउन लागि परेका हुन्।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू एकअर्कालाई आफ्नो पक्षमा पार्न कार्यवाहक सभापति र प्रधानमन्त्रीजस्ता पदको लोभ देखाउन लागि परेका छन्।

पार्टीको आगामी महाधिवेशनबाट पनि नेतृत्वमा टिक्ने दाउमा रहेका देउवाले संस्थापन र इतर पक्षका नेतालाई महाधिवेशनपछि कार्यवाहक सभापतिको जिम्मेवारी दिने बताउँदै आएका छन्। संस्थापन इतरका नेताहरूले भने अन्य आकांक्षीलाई सभापतिको उम्मेदवार हुनबाट रोक्न आगामी आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिँदै आएका छन्।

कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा पहिलो उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था छ। उपसभापतिको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने उम्मेदवार स्वतः पहिलो उपसभापति बन्छ। विधानमा यस्तो व्यवस्था हुँदाहुँदै पनि देउवाले विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहलाई महाधिवेशनपछि कार्यवाहक सभापति बनाउने आश्वासन दिएको स्रोतको दाबी छ।

देउवाले १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्न र १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्नेगरी तयारी गर्न उपसभापति निधिलाई आग्रह गरेका थिए। निधिले १५औं महाधिवेशनसम्म नकुर्ने जनाएपछि देउवाले कोइराला र सिंहलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भन्दै सहयोग मागेको स्रोतको दाबी छ।

पूर्वमहामन्त्री सिंहलाई सभापति देउवाले भेटेर,आफन्त र निकटहरूमार्फत पनि कार्यवाहक सभापतिको प्रस्ताव गरेको स्रोतले जनाएको छ। सिंहले भने सभापतिको उम्मेदवार बन्नेगरी तयारी गरेको भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेको स्रोतको दाबी छ। ‘प्रकाश दाइ (प्रकाशमान सिंह) लाई कार्यवाहक सभापति बन्न सभापतिले प्रस्ताव गर्नुभएको हो तर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो,’ दुवै नेतासँग राम्रो सम्बन्ध भएका एक नेताले भने।

मंसिरको पहिलो साता महामन्त्री शशांकलाई सरकारी निवास बालुवाटारमा भेटेका देउवाले उनलाई पनि सोही प्रस्ताव राखेको स्रोतको दाबी छ। उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने भएपछि दबाबमा परेका देउवाले आफूपछि पार्टी नेतृत्व शशांकलाई हस्तान्तरण गर्ने आश्वासन दिएको स्रोतले बतायो। आफू बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीतिमा अघि बढेको भन्दै देउवाले अब पार्टी नेतृत्व शशांकलाई हस्तान्तरण गर्न चाहेको बताएका थिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *