एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले लगातार चौथो जित निकालेको छ। गएराति भएको खेलमा म्याड्रिडले सेभिल्लालाई २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र भिनिसियस जुनियरले एकरएक गोल गरे । सेभिल्लाको लागि राफा मिरले एक गोल गरे । खेलको १२ औं मिनेटमा मार्कोस अकुन्नाको पासमा मिरले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए ।
३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई बराबरीमा ल्याए । यस्तै ८७ औं मिनेटमा इडर मिलिटाओको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जित दिलाए । जितसँगै म्याड्रिडले १४ खेलबाट ३३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । समान खेलबाट २८ अङ्क जोडेको सेभिल्ला चौथो स्थानमा छ ।