यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन

काठमाडौं, मंसिर १० । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम हुन गैरहेको छ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको जनाईएको छ ।

पाँच लाख कार्यकर्ता उद्घाटन सत्रको तयारीको लागि भरतपुरका ठाउँ-ठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।

महाधिवेशन उद्घाटन अघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भको व्यवस्था गरेको छ ।

बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ।

सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने जनाईएको छ। बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *