कांग्रेसमा सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छः कोषाध्यक्ष यादव


काठमाडौँ । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छन् । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनःजागरण अभियानः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का कांग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उनले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा कांग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताएकी हुन् । “गुटउपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस बलियो हुन सक्दैन”, उनले भनिन् ।

कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा कांग्रेस झन् कमजोर हुँदैगएको उल्लेख गरिन् । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उनको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिइन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा कांग्रेस कमजोर हुँदै गएको बताए । “जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म कांग्रेस बलियो हुँदैन”, उनले भने । प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा कांग्रेस कमजोर हुँदै गएको बताए । “हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस निर्वाचनमा किन हा¥यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ”, उनले भने ।

केन्द्रीय सदस्य किरण यादवले कांग्रेस नेतृत्वले तराईलाई राम्रोसँग बुझ्न नसकेका कारण कांग्रेसले तराईमा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । कांग्रेसभित्र क्रियाशील नभएका व्यक्तिलाई विभागमा राख्दा पार्टी झन् कमजोर हुँदै गएको उनको भनाइ थियो ।

पूर्वसांसद तेजुलाल चौधरीले आन्तरिक लोकतन्त्रलाई बलियो नबनाएसम्म कांग्रेस बलियो हुन नसक्ने बताए । केन्द्रका अध्यक्ष डा कमल रिजालले कांग्रेसलाई बलियो लोकतान्त्रिक पार्टी निर्माणका लागि केन्द्रले देशभर यस्ता किसिमका विचार, विमर्श र बहस चलाउँदै लैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *