विश्वविद्यालयका परीक्षा सुरु गर्न अनुदान आयोग सिफारिस

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले पहिलो प्राथमिकता पारम्परिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठन गरेको समितिले कोभिड–१९ महाव्याधीले सिर्जना गरेको अवस्थालाई सम्बोधन गर्दै नेपालका विश्वविद्यालयहरूमा इ–सिकाइ तथा परीक्षा प्रणाली व्यवस्थित गर्न बनेको निर्देशिका–२०७७’ शिक्षा मन्त्रालयलाई बुझाएको छ । सोही निर्देशिकाको सिफारिसका आधारमा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले आयोग र विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने तयारी गरेका छन् । निर्देशनपछि विश्वविद्यालयका प्राज्ञिक परिषद्ले आवश्यक निर्णय गरी पठनपाठन र परीक्षाका विषयमा छुट्टै निर्णय गर्नुर्पेछ ।

निर्देशिकाको परीक्षासम्बन्धी व्यवस्थामा विश्वविद्यालयहरूले शैक्षिक अपेक्षाहरूको पवित्रताहरू र परीक्षाको निष्ठालाई कायम राखी खुला पुस्तक परीक्षा, खुला विकल्प, कार्यभार, समयसीमा घर परीक्षाजस्ता वैकल्पिक र सरलीकृत विधिहरू अपनाएर परीक्षा लिनुपर्ने उल्लेख गरेको छ । निर्देशिकाको ६.२ मा भनिएको छ, ‘सम्भव भएसम्म विश्वविद्यालयहरूले कोभिड–१९ सुरक्षा प्रोटोकल कायम राखी सामाजिक दूरी र सामान्य सावधानी मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने गरेर सेमेस्टर, वार्षिक, टर्मिनल परीक्षाहरू सञ्चालन गर्नुपर्ने ।’

कोभिडको तयारी स्तर, परीक्षाको आवासीय स्थिति र महामारीको स्थानीय स्थिति विस्तृत रूपमा अवलोकन गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख छ । पहिलो प्राथमिकता परम्परागत परीक्षालाई दिनुपर्ने सिफारिस गरेको छ । त्यसपछि मात्रै घरकेन्द्रित परम्परागत परीक्षा अनुसरण गर्नुपर्ने निर्देशिकामा छ । प्रयोगात्मक परीक्षाका लागि विषयको प्रकृति हेरेर विश्वविद्यालयको आधिकारिक समितिले स्वीकृति गरी कुनै एक वा अरू धेरै विकल्प प्रयोग गर्न सकिने उल्लेख छ । परीक्षा सञ्चालकका लागि अन्तिम वर्षका अथवा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निर्देशिकामा रहेको आजको नयाँ पत्रिका दैनिकका भवानीश्व गौतमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *