मेलम्ची खानेपानी पुनः सञ्चालन छिटै

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ ।

बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग मेलम्ची खानेपानी छिटै सञ्चालनमा ल्याउने आश्वासन दिएका हुन् । मन्त्री चौधरी हेलिकोप्टर प्रयोग गरी मेलम्ची खानेपानी मुहान अवलोकन गर्न पुगेका थिए ।

काठमाडौंवासीले मेलम्ची खोलाको पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा मन्त्री चौधरीले भने, ‘अस्थायी रूपमा छिट पानी पुनः सुरुङमा ल्याउने काम गरिहाल्छौं । बाढीपहिरो रोकथामको दीर्घकालीन समाधान विस्तारै खोज्दै जान्छौं ।’

मुहान क्षेत्रमा पुगेका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले सरकारले यो आयोजनालाई प्राथमिकतामा राखेको बताउँदै यो हिउँदमा जसरी भए पनि उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बताए । तत्कालका लागि अस्थायी प्रक्रियाबाट भए पनि पानी खुवाउने विषयमा मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो ।

मन्त्री चौधरीसहित मन्त्रालयकी सचिव प्रमिलादेवी वज्राचार्य र आयोजना प्रमुख वासुदेव पौडेललगायतको टोलीले मेलम्चीको अम्बाथानस्थित हेडवक्र्समै पुगेर आयोजनाको अवस्थाबारे जानकारी लिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *