न्यायाधीशहरू हड्तालमा जानु तमासा हो, सडकबाट प्रधानन्यायाधीश फाल्न सकिँदैनः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीश, बार र सम्पादकहरूले अराजक र असंवैधानिक माग गरिरहेको आरोप लगाएका छन् । सडक आन्दोलनबाट प्रधानन्यायाधीश फेर्ने कुरामा एमालेको विमति रहेको उनले बताए ।

प्रवक्ता ज्ञवालीले भने, “हामी जहिले पनि संवैधानिक व्यवस्थाका पक्षपाती हौं । कसैलाई अनुहार मन परेको छैन भन्दैमा सडकबाट न्यायाधीश राख्ने र फाल्ने गर्दा विधिको शासन कहाँ रहन्छ ? अहिले बन्दी प्रत्यक्षीकरण मुद्दा समेत नहेरिने भयो । न्यायाधीश हडतालमा जाने तमासा कहाँ देख्नुभएको छ ? खास नेताहरुसँग अपवित्र गठबन्धन गरेर फैसला गर्ने अनि अराजक र असंवैधानिक बाटोबाट प्रधानन्यायाधीश फेर्ने ? उहाँहरुले मुलुकलाई भयानक अराजकतातिर लैजानुभएको छ ।”

उनले एमालेले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारे । उनले थपे, “हामीले किन महाअभियोग ल्याउने ? सत्ता गठबन्धनका सांसदहरुले महाभियोग ल्याए के गर्ने भनेर त्यतिबेलै सोचौंला ।”

प्रवक्ता ज्ञवालीले नेकपा विभाजन र एमालेका केही साथीहरुको बहिर्गमनका कारण प्रदेशमा पार्टीको सरकार जानु अस्वाभाविक नभएको बताए । उनले भने, “आफ्नो घर जलाएर खरानीको टीका लगाउने साथीहरु निस्केपछि के लाग्छ ! एमालेको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन ५० औं वर्षको इतिहास बिर्सनुभयो । त्यसको पुरस्कार स्वरुप तल मुख्यमन्त्री पाउनुलाई के ठूलो कुरा मान्ने ?”

एमाले अध्यक्ष केपी ओलीका कारण प्रदेश सरकार नढलेको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *