काठमाडौँ । नेपाली मूलका रामेश्वर भण्डारी अमेरिकाको एउटा सहरको आयुक्तमा नियुक्त भएका छन् । अमेरिकाको आर्टिसिया शहरको शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगको आयुक्तमा उनी नियुक्त भएका हुन् । सिटी काउन्सिलको बैठकले उनलाई आयुक्त नियुक्त गरेको जनाइएको छ ।
अमेरिकाको चर्चित एन्जेलस काउन्टीमा पर्ने सहरमा नेपालीहरु र एशियाली मुलका नागरिकहरु उल्लेख्य बस्ती रहेको छ । भण्डारीले सो शहरको सुन्दरता र मर्मतसम्भारसम्बन्धी कार्यभार सम्हाल्नुहुने छ ।
यो कार्यकारी पद नभएर सल्लाह दिने पद रहेको जानकारी दिँदै शहरको पुनर्निर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी रहेको उनले स्पष्ट पारे ।
उनको पदावधी चार वर्षको हुनेछ । अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भण्डारी हाल अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जेलस कम्युनिटी कलेजमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसर छन् । पाल्पाको रामपुर नगरपालिका १०, रामटारमा जन्मिएका भण्डारीले नेपालमा रहँदा अध्यापनसँगै काठमाडौका विभिन्न सञ्चार माध्यममा पत्रकारिता गरेका थिए ।
