वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उनकै कार्यकर्ताले पुत्ला जलाएका छन् । जसपाबाट पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा वीरगंजमा प्रदर्शन गरिएको हो ।
मन्त्रीको सूचीमा सांसद यादवको नाम नराखिएपछि (जसपा) पर्सामा खैलाबैला मच्चिएको छ । जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको भन्दै प्रदर्शन गरिएको हो । मधेस आन्दोलनको उद्गमस्थल वीरगन्ज भएको र विद्रोहको विगुल फुक्ने तथा आन्दोलनको आँधिबेहरी ल्याउने स्थानलाई नजरअन्दाज गरिएको र किनारा लगाइएको भन्दै सांसद यादवका समर्थकले आक्रोश व्यक्त गर्दै पुत्ला जलाएका हुन् ।
सांसद यादवका समर्थकले वीरगन्जको घण्टाघरमा जसपाका अध्यक्ष यादवको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पर्सा जिल्लालाई घात गर्न पाइँदैन, उपेन्द्र यादव मुर्दावाद, काला नाग मुर्दावाद, जसपाका शान प्रदीप यादव जिन्दावाद, नेता कस्तो प्रदीप यादवजस्तो लगायतका चर्का नारा लगाएका थिए ।
कालो झण्डासहित निकालिएको विरोध र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत गरिएको थियो । कोणसभाकै क्रममा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।
देउवा सरकारमा जसपाले चार मन्त्रालय पाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, भौतिक पूर्वाधार विकासमन्त्रीमा रेणु यादव, वनमन्त्रीमा बाराबाट रामसहाय प्रसाद यादव र कृषि मन्त्रीमा महेन्द्र राय यादवलाई सरकारमा पठाएपछि जसपा पर्साका नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
