काठमाडौं। नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण नगरेको दाबी गरेका छन् । उनले ओली जस्तो नेता एमालेमा मात्र नभएर सिंगो देशमै नभएको बताए ।
सचिव गुरुङले भने, “केपी ओली एमालेको प्रतीक हो । तर उहाँ नेता हो, देवता होइन । एमाले भगवान् मान्दैन, पूजा गर्दैन । त्यसैले ओलीको फोटोमा घन्टी बजाएर पूजा गरिएको छैन । तपाईंहरु ओलीलाई किन लखेट्नुहुन्छ ? किन डाह र ईर्ष्या गर्नुहुन्छ ? हामीले ओलीको विचार, इमान र सक्रियतालाई समर्थन गरेका हौं । उहाँ एमालेको मात्र निर्विकल्प नेता होइन, उहाँ जत्तिको नेता अर्को कुनै पार्टीमा छैन । अब ओलीलाई लखेटेर केही हुनेवाला छैन ।”
ओलीको भिजन र इच्छाशक्ति देखेर सिंगो कम्युनिस्ट आन्दोलनका लागि वरिपरि गोलबन्द भएको उनको दाबी छ । उनले थपे, “यहाँ १७ हजार जनता मारेको आरोप लागेका मानिस कुनै पार्टीका अध्यक्ष छन्, लोकतन्त्रलाई दरबारमा बुझाएको नेता प्रधानमन्त्री छन् । निजी स्वार्थका लागि फस्ट म्यान हुन सकिन्न, प्रधानमन्त्री हुन सकिन्न भन्ने लागेर पार्टी छाडेका मानिस नेता छन् । १५ वर्ष पार्टी महासचिव बनाउँदा पनि कोही अघाउँदो रहेनछ । कसैलाई १२ वर्ष अध्यक्ष बन्दा पनि पुग्दो रहेनछ । कोही ४० वर्षसम्म अध्यक्ष हुँदा पनि हस्तान्तरण गर्ने जाँगर चलाउँदैनन् । ओलीको त भरखर एक कार्यकाल सकिएको हो, अर्को कार्यकाल अध्यक्ष हुन पाउने वैधानिक व्यवस्था छ । त्यसमा पनि तीन वर्ष शून्य अवधि मानिएको छ ।”
उनले विधान महाधिवेशनपछि एमाले एकताबद्ध भएर अघि बढेको र वैचारिक रुपमा समस्या नरहेको बताए ।