नेपालमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिनकाे परीक्षण सुरू हुने

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्ध लड्न उपयोगी देखिएका भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने बाटो खुलेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको बताए । चीनमा सो भ्याक्सिन उत्पादन गर्ने कम्पनी पनि होङ्सी हो ।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी सिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण गर्न अनुमति मागेको थियो । “उनीहरुले के कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भाव्यता अध्ययन गर्नेछ, त्यसपछि बल्ल ट्रायलको काम शुरु हुन्छ,” डा. ज्ञवालीले भने– यो ट्रायलमा नेपालीलाई पनि सहभागी गराउने वा नगराउने भन्ने बारेमा छलफलपछि निश्कर्षमा पुग्नेछौँ । परिषद्ले सोमबारदेखि नै यसबारे चिनियाँ पक्षसँग छलफल शुरु गर्दैछ । परिषद्ले यसअघि नै स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन ट्रायलका लागि अनुमति लिइसकेको छ।

सोहीक्रममा चिनियाँ कम्पनीले भ्याक्सिन परीक्षणका लागि अनुमति पाएपछि यो काम अघि बढाउने वातावरण बनेको डा. ज्ञवालीले बताए । विश्व स्वास्थ्य संघठनले परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ । डा. ज्ञवालीका अनुसार अक्सफोर्ड ग्रुपसँग चार दिनअघि भएको छलफलमा उनीहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । उनीहरुको समूहले नेपाललाई भ्याक्सिन ट्रायलका लागि समुहमा राख्ने वा नराख्ने भन्ने बारेमा एक÷दुई दिनमा छलफल गरेर निधो दिने बताएका छन्,– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *