काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय देखिएको विबाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपा अध्यक्षद्वय के पी शर्मा ओली र प्रचण्डलाई बुझाएको छ ।
महासचिव विष्णु पौडेलको नेतृत्वको कार्यदलले एक साताको गृहकार्यपछि विवाद समाधानको सुझावसहित तयार गरेको प्रतिवेदन शनिवार अपरान्ह ४ः४५ बजे नेकपाका अध्यक्षद्वयलाई बुझाएको हो । पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विवादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने प्रतिवेदनमा कार्यदलका सबै सदस्यको सहमति रहेको बताइएको छ ।
प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा दिने र प्रधानमन्त्री के पी ओलीले संसदको यो कार्यकाल भरि सरकार सञ्चालन गर्ने उल्लेख छ । प्रधानमन्त्रीलाई पार्टीले सघाउने र ओली अध्यक्षमा कायम रहे पनि पार्टी काममा हस्तक्षेप नगर्ने प्रतिवेदनले सुझाएको छ । सरकार सञ्चालन र महत्त्वपूर्ण नियुक्तिमा प्रधानमन्त्रीले पार्टीको सुझाव सल्लाह लिने विषयलाई पनि कार्यदलले प्रतिवेदनमा समेटेको छ । सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुर्नगनठनको सुझाव पनि कार्यदलले अध्यक्षद्वयलाई दिएको छ ।
गत साउन ३० गते शुक्रवार अध्यक्षद्वयबीच महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो । साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले सो कार्यदल अनुमोदन गरेको थियो । कार्यदलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य थिए ।
अध्यक्षद्वयले ग्रहण गरेको प्रतिवेदन पार्टीको सचिवालयबाट अनुमोदन गरिने बताइएको छ ।

