पीसीआर परीक्षणका लागि १० प्रयोगशाला थप गर्ने सरकारको तयारी

काठमाण्डौ – सरकारले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा। गुणराज लोहनीका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाण्डौ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाण्डौमा प्रयोगशाला स्थापना गरिनेछ ।
अहिले देशभर २३ स्थानमा पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण हुनेछ ।

नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *