काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट काठमाडौँमा आज थप एक जनाको मृत्यु भएको छ ।बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियाे ।
अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार मृत्यु हुनेमा राजविराजका हुन् । साउन ३० गते काठमाडौं आएर वीर अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिए पनि स्वास्थ्य अवस्था विग्रिएकाले उनी शुरुमा ग्राण्डी अस्पताल गएका थिए । ग्राण्डीले ती पुरुषलाई ग्रिनसिटी अस्पतालमा पठाएका थियाे । साउन ३२ गते वीर अस्पतालबाट कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि पनि ग्रिनसिटी अस्पतालमै उपचारत ती पुरुषको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबार साँझ मात्र एपीएफ अस्पतालमा रेफर गरिदिएको थियाे ।
ती पुरुषलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भेन्टिलेटरमा राखिएको थियो । उनको शुक्रबार बिहान मृत्यु भएको डा नेपालले बताए ।
याेसँगै काठमाडाैँमा आज काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बिहान दुई जनाकाे पाटन अस्पतालमा मृत्यु भएकाे थियाे ।
