काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं। काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिए। उनले भने, ‘‘अब भुइँतलाको बार्दली लगाउन र भुइँमा तेली इँट लगाउन बाँकी छ ।’’

‘‘हामीले सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौँ । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौँ । सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, संयोजक शाक्यले भने, ‘‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौँ शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।’’ मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’’

कुल १२ करोड रुपियाँको लागतमा निर्माण हुने अनुमान गरिएकोमा अहिलेसम्म काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपियाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको उनले जानकारी दिए । यस वर्षको साउन मसान्तसम्म १० करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ ।

पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम सुरु गरिएको थियो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराका सयवटा थाम राखिएको छ । सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । चारवटा मूल थाममध्ये एउटा ११ सय वर्ष पुरानो रहेको उनले बताए ।

दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एकरएकवटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिए । तीन तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण भइरहेको उनको भनाई छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *