अत्याधिक बर्षाले देशभरको जनजिवन प्रभावित, उपत्यका डुवानमा(भिडियोसहित)

काठमाडौं । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

लगातारको वर्षाका कारण उपत्यकाका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् ।  राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ । राजधानीका शान्तीनगर, धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताएका छन् ।

अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ । राति २ः३० बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।

यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच गए रातभरको अबिरल बर्षाको कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ ।होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ । बाढीका कारण खोला छेउका बस्तिहरु समेत डुवानमा परेका छन् ।

नगरपालिकाले खोलाको करिडोर निर्माणको लागि समयमा नै व्यवस्थापन गर्न ध्यान नदिंदा सधै यस्तो समस्या भोग्नू परेको स्थानियको भनाई छ ।

तस्विर स्रोतः देवराज केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *