डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य

गलेश्वर । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् । एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का अहिले नासिन थालेका छन् ।

गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इञ्जीनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौँ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएको बताइएको छ ।

जीवन्त यस्ता सम्पदाको संरक्षणका लागि सम्बन्धीत पक्षले वास्ता नगरेको स्थानीयवासीको भनाइ छ । विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभावी खनिएका मोटरबाटोका कारण बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ ।

यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले बल्ल आ–आफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको जानकारी लिन सुरु गरेका छन् ।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको वा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताए । उनले भने, “विकासको नामबाट विनास भएको छ त्यसले दीर्घकालसम्म क्षति पुर्याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन, आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।”

तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयवासीले बताएका छन् ।

ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती, डम्मरा र गौडालाउने चौतारी तथा लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौंँ सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

एक घण्टाको बाटो दुई मिनेटमा छोट्टियो

म्याग्दी र बागलुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौँसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौँ गाउँका बासिन्दाले अब भने एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सजिलो भएको हो ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ढाडेनीखोलामाथि झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरेको हो । एक करोड ३९ लाख लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायतका गाउँका सयौँ मानिसलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी युवा भीमबहादुर घिमिरेले बताए ।

बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने वाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय पुग्ने भएका छन् ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापरखेतमा बस्दै आएका प्रवेश कुवँरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *