राष्ट्रपतिद्वारा प्रदेश दुईका प्रमुख झालाई पदमुक्त गरी मिश्रलाई नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर दुईका प्रमुख राजेश अहिराज (झा) लाई हटाएर महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार झालाई बर्खास्त गर्दै मिश्रलाई मंगलबार नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ । सरकारले पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी गराएका छन्।

महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *