मकवानपुर । वागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । सोमबार आएको रिपोर्टमा उपसभामुख तामाङसहित १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । काेराेना संक्रमित हुने उनी नेपालकी उच्च जनप्रतिनिधि हुन् ।
तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो । त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन्। तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको छ । तामाङमा कुनै स्वास्थ्य समस्या देखिएको छैन ।