तुइन नभएपछि मालगाउँमा हाहाकार

दार्चुला। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँका बासिन्दालाई महाकाली नदीको मालघाटमा ओहोरदोहोर बन्द हुँदा समस्या भएको छ।

भारतीय एसएसबीका जवानले तुइनको तार फुकालेर ३३ वर्षीय जयसिंह धामी नदीमा खसी बेपत्ता भएपछि मालघाटमा ओहोरदोहोर बन्द छ। जसका कारण मालगाउँमा दैनिक उपभोग्य वस्तुको अभावले हाहाकार भएको छ। २१ वर्षदेखि सञ्चालित तुइनको तार भारतीय पक्षले खोलिदिएपछि मालगाउँवासीलाई आपत् आइपरेको हो।

स्थानीयले महाकालीपारिको गस्कोबाट तुइन तारेर उपभोग्य सामान ल्याउँथे। अलि धेरै नै सामान ल्याउनुपरे भारतको बाटो हुँदै धार्चुला अथवा सदरमुकाम खलंगा पुगेर ल्याउँथे। मालगाउँबाट सदरमुकाम पुग्न सडक छैन। वर्षाका बेला ढुंगा खस्ने, पहिरो जाने गरेकाले गोरेटो बाटो पनि जोखिमयुक्त छ। यो बाटो हिँडेर सदरमुकाम पुगी सामान किनेर घर फर्कन ३ दिन लाग्ने गर्छ।

धामीको १५औं दिनको पुण्यतिथिको कर्मका लागि चाहिने सामान लिन उनका भाइ नरेन्द्र सिंह धामीसहित तीनजना सोमबार झिसमिसेमै घरबाट सदरमुकाम खलंगाका लागि हिँडे। उनीहरू बुधबार साँझसम्म पनि घर पुगेका छैनन्, बाटोमै छन्।

‘मालघाटमा महाकाली तरेर भारतको बाटो भएर सदरमुकाम पुग्न र फर्किन चार घण्टामात्रै लाग्थ्यो। सामान किनेर साँझ सजिलै घर फर्कन सकिन्थ्यो’, नरेन्द्रले भने, ‘ओहोरदोहोर बन्द भएपछि पैदल हिँडेर सदरमुकाम पुग्नुपर्‍यो, कति दुःख भएको छ, भनी साध्य छैन।’ उपभोग्य सामान ल्याउन कठिनाइ भएपछि स्थानीय नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा छन्। आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले खवर लेखेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *