नेकपा सचिवालय बैठक सकियाे, कार्यदलले पायाे बैधानिकता

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई आज अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेता श्रेष्ठले भने, ‘बैठकले कार्यदल गठनको विषयलाई सकारात्मकरुपमा लिँदै अनुमोदन गरेको छ ।’

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा नेकपाभित्र देखिएको विवाद समाधानका लागि सहमतिको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा चार दिनअघि ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल सदस्य रहेका छन् ।

कार्यदललाई छिटोभन्दा छिटो सुझाव पेश गर्न आजकाे सचिवालय बैठकले निर्देशन दिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई सचिवालयबाट अनुमोदन गराउन माधव नेपाललगायतका नेताहरूले माग गरेका थिए । सहमति खोज्न गठित कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *