काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरुलाई आज हस्तान्तरण गरिएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका हुन । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाएका छन् ।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका माननीय सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो । कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३।५ सेन्टिमिटर व्यास रहेको छ । लोगो घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । संघीय संसदका सदस्यहरुलाई समेत उक्त लोगो आजैदेखि उपलब्ध गराइने छ ।