पाँचथरमा गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

रवीन्द्र काफ्ले, पाँचथर । बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा बिक्री भइरहेको छ । गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् ।

कोभिड–१९ सङ्क्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेँडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषक मर्कामा परेका हुन् ।

“पोहोर साल प्रतिकिलो २० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन”, याङवरक–६ का गोलभेँडा उत्पादक कृषक रामकुमार गुरागाईँले भने, “यसपालि त १०/१२ रुपैयाँमा बेच्न पनि कठिन पर्यो ।” बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक गुरागाईँको भनाइ छ ।

“हामी कृषक आफैँले बजार पुर्याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन”, गुरागाईँले भने, “निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।” २५ रोपनी खेतमा बर्खे गोलभेँडा लगाएका गुरागाईँले कम्तीमा एक लाख आम्दानी गर्ने सोच बनाएका थिए । “अघिल्ला वर्षहरुमा एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ”, उनले भने, “यसपालि त साँवा नै उठेन ।”

कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक रीता खड्काको भनाइ छ । “पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपालि बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन”, खड्काले भनिन्, “पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।”

गोलभेँडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उनको गुनासो छ । पाँच रोपनी खेतमा लगाइएको गोलभेँडाबाट कम्तीमा ५० हजार आम्दानी गर्ने लक्ष्य बनाएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी १२ हजार पनि आम्दानी नहुँदा निराश छन् । “बिक्री गरिसक्न लागेँ । तर यसपालि टमाटरसँग धेरै आश छैन”, पुरीले भने, “यसपालि प्रकृतिले नै धोका दियो ।”

हिलिहाङ–१ का सहकारीकर्मी केशव भण्डारी यस वर्ष गोलभेँडाले उचित मूल्य पाउन नसकेको वताउँछन् । “ १०÷१२ रुपैयाँमा बिक्री भइरहेको छ”, भण्डारीले भने, “यसले कृषकलाई मारमा पार्यो ।” याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेँडाले उचित मूल्य नपाउँदा सयौँ परिवार कृषक मारमा परेको बताउँछन् । “हामीकहाँ गोलभेँडाको खेती नगर्ने परिवार नै छैनन्”, काम्बाङले भने, “मूल्य निकै कम हुँदा सबै जना मारमा पर्नुभएको छ ।”

कृषि प्राविधिक, कृषक एवं गोलभेँडाका स्थानीय व्यापारीसमेत रहेका याङवरक–६ का वीरेन्द्र काफ्ले गोलभेँडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारण रहेको बताउँछन् । एकै बोटमा धेरै गोलभेँडा फल्नाले गुणस्तर नहुने, गोलभेँडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको काफ्ले भनाइ छ ।

“एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छन्”, काफ्लेले भने, “मुख्य बजारमा नेपालीभन्दा भारतीय टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।”

धेरै फलाउने प्रतिस्पर्धामा कृषकले प्राविधिक सल्लाहबिना विषादीको प्रयोग गर्नाले बर्सेनि गोलभेँडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताले नरुचाएको काफ्लेको भनाइ छ । यहाँ उत्पादित गोलभेँडाको मुख्य बजार तराईका जिल्ला र भारत हो । ढुवानी खर्च, कुहिने तथा बिग्रने गोलभेँडा छुट्याउनु पर्नाले कृषकले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो १० रुपैयाँ अन्तर आउने गरेको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा याङवरक गाउँपालिकाको वडा नं ५ र ६ मा गोलभेँडाको अत्यधिक खेती हुने गरेको छ । यहाँका अधिकांश कृषकले गोलभेँडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले कृषक मारमा परेका छन् । हिलिहाङ र याङवरकका गरी करिब एक हजार ५०० परिवार कृषकले गोलभेँडा खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *